|
सामान्य उत्सुकताहरू नेपालीनक्स सम्बन्धी तपाईँका सबै उत्सुकताको जवाफ प्रश्नहरू थप्न, उत्तर लेख्न र सम्पादन गर्नमा सबैको योगदान आवश्यक छ। 1. नेपालीनक्स भनेको के हो? नेपालीनक्स डेबियनमा आधारित मोर्फिक्स र नोपिक्स प्रविधिहरू प्रयोग गरिएको लिनक्स वितरण प्रणालीको नेपाली संस्करण हो। लिनक्स वितरण प्रणाली सफ्टवेयरको उपयोग र विकास गर्नेहरूका लागि 'सोर्सकोड' खुला राखिएको पूर्ण रूपले वैध अपरेटिङ् सिस्टम हो। नेपालीनक्स पनि खुला स्रोतमा आधारित कम्प्युटर सञ्चालन प्रणाली हो।
2. मैले नेपालीनक्स किन चलाउने? नेपालीनक्स मा नेपाली भाषाका डेस्कटप प्रयोगकर्ताहरूका लागि शब्द प्रशोधक, प्रस्तुतीकरण सफ्टवेयर, स्प्रेडशीट, नेपाली जिनोम डेस्कटप, वेब ब्राउजर, ईमेल क्लाइन्ट, खेल अनुप्रयोगहरू, नेपाली आगत प्रणाली जस्ता अनुप्रयोगहरू समावेश छन्। एउटा रित्तो कम्प्युटरमा नेपालीनक्स र यसैसित आउने अनुप्रयोगहरू राखे पनि त्यसबाट हामीले हालसम्म लिइआएका सबै काम लिन सकिन्छ। अर्थात्ऽ लेख्नऽ सम्पादन गर्नऽ सङ्गीत सुन्नऽ फिल्म हेर्नऽ इमेल र च्याट गर्ने जस्ता कामका लागि अरू कुनै पनि सफ्टवेयरहरू राख्न पर्दैन। नेपालीनक्स राखेपछि कम्प्युटर पूर्णरूपमा नेपाली माध्यमबाट चलाउन सकिन्छ र आवश्यकता अनुसार कम्प्युटर अङग्रेजीमा पनि चलाउन सकिन्छ। यसका ओपन अफिसका अनुप्रयोगहरूमा हिज्जे परिक्षक र पर्यायकोष जस्ता विशेषताहरू पनि समावेश गरिएको छ।
अङ्ग्रेजी जान्दै नजान्ने र नेपाली भाषा सामान्य लेखपढ गर्न जान्नेहरूका लागि यो निकै उपयोगी साबित हुन सक्दछ भन्ने मदन पुरस्कारको विश्वास छ। 3. नेपालीनक्स कस्तो कम्युटरमा चल्छ? पेन्टियम टु, थ्री मा पनि चल्छ? नेपालीनक्स चलाउनका लागि चाहिने न्युनतम हार्डवेयर इन्टेल पेन्टियम १ वा सो सरहको प्रोसेसरम ६४ एम्बी RAM हार्ड डिस्क नभएको खण्डमा पनि चल्छ सीडी-रोम (CD ROM) ड्राइभ
4. नेपालीनक्स विन्डोज ९८ मा चल्छ कि चल्दैन? नेपालीनक्स आफै एउटा सञ्चालन प्रणाली हो। यसलाइ हार्ड डिस्क बिना सिधै लाइभ सीडीबाट पनि चलाउन सकिन्छ। कम्प्युटरमा विन्डोज ९८ वा कुनै अरू सञ्चालन प्रणाली (अपरेटिङ सिस्टम) नभएको खण्डमा पनि यसलाइ चलाउन सकिन्छ र विन्डोज ९८ वा कुनै अरू सञ्चालन प्रणाली भएको खण्डमा पनि चलाउन सकिन्छ।
5. यस अघि मपुपुले नेपाली युनिकोडको प्रचार गरेको थियो। अहिले आएर सोही संस्थाले नेपालीनक्स भन्नथाल्दा हामी उपभोक्ताहरू अल्मलिएका छौँ। यी दुइमा के अन्तर र के समानता छ? 'नेपाली युनोकोड' युनिकोड अक्षर प्रणाली मात्र हो जस्ले कम्प्युटरको लेखन प्रणाली लाई वैज्ञानिक र सुलभ बनाउदछ। यो विन्डोज ९८ भन्दा पछिल्ला सञ्चालन प्रणालीमा चल्दछ। नेपालीनक्सको बारेमा अतिरिक्त जानकारीका लागि प्रश्न १,२,३,४ हेर्नुहोस्।
6. नेपालीनक्सको प्रयोग गरिएको कम्प्युटरमा नेपाली भाषामा मात्र काम गर्न सकिन्छ कि अङ्ग्रेजीमा पनि काम गर्न सकिन्छ? सकिन्छ भने कसरी? नेपालीनक्सको प्रयोग गरिएको कम्प्युटरमा नेपाली र अङ्ग्रेजीमा दुवै भाषामा काम गर्न सकिन्छ। सामान्यतया नेपालीनक्स लगइन गर्दा नेपालीमा आउछ तर नेपालीनक्स लगइन गर्दा language विकल्पमा गइ अङग्रेजीको चयन गरेमा सम्पुर्ण सञ्चालन प्रणाली अङग्रेजीमा आउदछ। यसको रमाइलो पक्ष के छ भने जुन सुकै भाषामा सञ्चालन प्रणालीको प्रयोग गर्दा पनि भाषा परिवर्तन सहज तरिकाले गर्न सकिन्छ। ctrl+spacebar थिचेर नेपाली (traditional/romanized) वा अङग्रेजी दुवैमा काम गर्न सकिन्छ।
7. हामीले आफ्नो कम्प्युटरमा बजारमा पाइने अनेक किसिमका सफ्टवेयरहरू चलाउनु पर्ने हुन्छ। के नेपालीनक्स प्रयोग गरेपछि पनि ती सफ्टवेयरहरू चलाउन सकिन्छ? सकिन्छ, तर ति सफ्टवेयरहरू डेबियन लिनक्सको लागि बनाइएको हुनुपर्दछ।
8. नेपालीनक्समा कस्ता सफ्टवेयरहरू उपलब्ध छन् र बजारमा पाइने कुन कुन वा कस्ता सफ्टवेयरहरू यसमा प्रयोग गर्न सकिन्छ? सामान्य डेस्कटप प्रयोगकर्ता लाइ चाहिने सम्पुर्ण सफ्टवेयर नेपालीनक्समा समावेस गरिएको छ। थप सफ्टवेयरको लागि http://packages.debian.org/testing हेर्न सक्नुहुन्। सफ्टवेयर जडान गर्नको लागि नेपालीनक्सको म्यानुअल हेर्नुहोस्।
9. के म आफ्नो कम्प्युटरमा विन्डोज र नेपालीनक्स सँगसँगै चलाउन सक्छु? प्रश्न ४ हेर्नुहोस्। 10. मैले आफ्नो कम्प्युटरमा नेपालीनक्स राखेँ भने मेरा पुराना फाइलहरू बिग्रेलान् कि? नेपालीनक्सको लागि छुट्टै पार्टिसन चाहिने हुँदा पुराना फाइलहरू बिग्रिदैनन् तर यो जडान गर्दा केहि सावधानि भने अपनाउनु पर्ने हुन्छ।
11. कम्प्युटरमा नेपालीनक्स इन्स्टल नगरी सीडीबाट नै चलाउन सकिन्छ भनियो। तर यस कुराले मेरा मनमा अर्को कौतुहल पैदा भएको छ। मानौँ मैले नेपालीनक्स इन्स्टल नगरी सीडीबाट नै चलाएँ। कम्प्युटरमा कुनै काम गरेँ र फाइल सेभ गरेर नेपालीनक्सको सीडी कम्प्युटरबाट निकालेँ। अब जुन अपरेटिङ सिस्टम अनुसार मैले काम गरेको हुँ, त्यो नै नरहेपछि मेरो काम त्यहाँ रहन्छ कि रहँदैन? तपाईँले बनाउनु भएको फाइललाइ पेन ड्राइभमा सेभ गर्नु भएको खण्डमा त्यसलाइ आफ्नो ईच्छा अनुरूप आफुलाइ मन लागेको सञ्चालन प्रणालीमा चाहिएको बेला खोल्न र काम गर्न सक्नुहुन्छ। हार्ड डिस्कका सेभ गर्नको लागि तपाइले सर्वप्रथम हार्ड डिस्कलाइ माउन्ट गर्नु पर्ने हुन्छ र हार्ड डिस्कमा बचत गर्न सक्नुहुन्छ। र पछि तपाईँको कम्प्युटरमा भएको कुनै पनि सञ्चालन प्रणालीमा त्यो फाइल खोल्न सक्नुहुन्छ।
12. मानौँ मैले नेपालीनक्स इन्स्टल नगरी सीडीबाट नै चलाएँ। कम्प्युटरमा कुनै काम गरेँ र फाइल सेभ गरेर नेपालीनक्सको सीडी कम्प्युटरबाट निकालेँ।मानौँ केही समयपछि त्यो फाइल अर्को कम्प्युटरमा वा सीडीमा वा युएसबी ड्राइभमा सार्नु पर्ने भयो। नेपालीनक्समा आधारित रहेर गरेको त्यो कामको कपि बनाउनका लागि फेरि नेपालीनक्सको सीडी चाहिन्छ? प्रशन ११ हेर्नुहोस्।
13. नेपालीनक्स इन्स्टल गर्न सामान्यतया कति समय लाग्छ? सामान्यतया नेपालीनक्स इन्स्टल गर्न ३0 मिनेट लाग्छ। तर यो सबै तपाईँको कम्प्युटरको RAM र प्रोसेसर स्पिडमा भर पर्छ।
14. इन्स्टल नगरी सिधै सीडीबाट चलाउने हो भने कति समय (सेकेन्ड) मा कम्प्युटर काम गर्न तयार हुन्छ? धेरै बेर लागदैन, बढिमा ५ मिनेट।
15. के मपुपुले बनाउने शब्दकोश, हिज्जे परीक्षक जस्ता सफ्टवेयरहरू विन्डोजमा चल्दैनन्?
मपुपुले बनाउने शब्दकोश, हिज्जे परीक्षक जस्ता सफ्टवेयरहरू नेपालीनक्समा स्वत: नै आउछ तर विन्डोजमा चलाउनको लागि तपाईँले अतिरिक्त ओपन अफिस. ओर्ग र शब्दकोश, हिज्जे परीक्षक का छुट्टै कम्पोनेन्ट राख्नुपर्ने हुन्छ।
16. मैले आफ्नो कम्प्युटरमा नेपालीनक्स इन्स्टल गरेँ भने त्यसमा लाइनक्सका अरु सफ्टवेयरहरू चल्छन् कि चल्दैनन्? प्रश्न ७ हेर्नुहोस्।
17. नेपालीनक्स सञ्चालन प्रणाली नेटवर्किङका लागि कस्तो छ? नेटवर्किङका लागि यसमा केही समस्या र सुविधा छन् भने खुलस्त बताइदिनु होला। नेपालीनक्स सञ्चालन प्रणाली नेटवर्किङका लागि पनि राम्रो छ। तपाईँ नेपालीनक्स र विन्डोज सञ्चालन प्रणालमा पनि नेटवर्किङ गर्न सक्नुहुन्छ।
18. नेपालीनक्स घरेलु प्रयोगका लागि मात्र हो कि ठूला ठूला ब्याङ्कऽ कम्पनी आदिको सर्भरका रूपमा काम गर्न पनि विश्वसनीय छ? हाल नेपालीनक्स ठूला ठूला ब्याङ्कऽ कम्पनी आदिको सर्भरका रूपमा काम गर्न सकिन्न।
19. नेपालीनक्सको अफिस कार्यक्रममा कुन कुन फन्टहरूको प्रयोग गर्न सकिन्छ वा यसले कुन कुन फन्टहरूलाई समर्थन गर्दछ? यसले युनिकोड लगायत सबै फन्टलाइ समर्थन गर्दछ।
20. नेपालीनक्सले मेरो हार्डडिस्कमा कति ठाउँ ओगट्छ? २ जीबी ।
21. म नेपालीनक्सको सीडी कहाँबाट प्राप्त गर्न सक्छु? नेपालीनक्सको सीडी मदन पुरस्कार पुस्तकालय र कम्प्युटर बजार मा उपलब्ध छन् र यसलाइ इन्टरनेट बाट पनि डाउनलोड गर्न सकिन्छ त्यसको लागि ठेगाना रहेको छ www.nepalinux.org .
22. नेपालीनक्समा प्राविधिक समस्या आइपरेमा मैले कहाँ र कसरी सम्पर्क राख्ने? नेपालीनक्सका प्राविधिक समस्या समाधानका लागि तपाईँ नेपालीकस्को गुगल ग्रुपको सदस्य बन्न सक्नुहुन्छ। यसको लागि www.nepalinux.org मा जानुहोस र Mailing List मा क्लिक गरेर र यसको सदस्य बन्न सक्नुहुन्छ। तपाईँ आफ्नो समस्या मदन पुरस्कार पुस्तकालयको वेबसाइट www.mpp.org.np/forum मा पनि राख्न सक्नुहुन्छ। मदन पुरस्कार पुस्तकालयको कार्यालय सम्पर्क नम्बर ५५२१३९३ मा फोन पनि गर्न सक्नुहुन्छ। सोमबार र शुक्रबार बेलुकि ४ देखि ६ बजे सम्म मादन पुरस्कार पुस्तकालय आउन सक्नुहुन्छ। अतिरिक्त तालिम तथा जानकारिको लागि मपुपु-५५२१३९३ मा फोन गर्न सक्नुहुन्छ, हामी तपाईँलाइ निशुल्क तालिम पनि दिन्छौं। |