|
जुलाई ६, २००८ का दिन ललितपुरको पाटनढोकामा अवस्थित मदन पुरस्कार पुस्तकालय (मपुपु) ले नेपालीनक्स ३.० शिक्षा सार्वजनिक गर्यो ।
यस संस्करणमा जीकम्प्रिस, अफलाइन नेपाली शब्दकोश, अफलाइन अङ्ग्रेजी शब्दकोश जस्ता विभिन्न शैक्षिक प्याकेजहरू समाविष्ट गरिएको छ । साथै यसमा एलटीएसपी (लिनक्स टर्मिनल सर्भर प्रोजेक्ट) समाविष्ट गरिएको छ ।
एलटीएसपी प्रणालीका माध्यमबाट लिनक्स स्थापित कुनै पनि सर्भरमा थिन क्लाइन्ट अर्थात न्यून कन्फिगरेसन भएका सञ्जाल कम्प्युटरहरूको प्रयोग गरी कार्य गर्न सकिन्छ । एउटा मुख्य कम्प्युटरबाट एकैसाथ सबै टर्मिनलहरू प्रयोग गर्न यसको प्रयोग गरिन्छ । आगत निर्गत ह्यान्डल गर्न सक्षम थिन क्लाइन्ट गरेको टर्मिनलसँग चल्छ । यसको प्रयोगबाट महङ्गो डेस्कटप मेशिन बिनानै कम्प्युटरमा पहुँच गर्न सकिने भएकाले स्कुल तथा साइबर क्याफेहरूमा एलटीएसपी बढी उपयोगी देखिन्छ । यसको राम्रो पक्ष भनेकै अन्य प्रचलित कम्प्युटरहरूभन्दा कम खर्च पर्ने थिन क्लाइन्ट मेशिनहरूको प्रयोग हो । परम्परागत रूपमा हामीले उच्च पावर भएका इन्टेल आधारित डेस्कटप कम्प्युटरहरू प्रयोगमा रहेको पाइन्छ र हरेकमा विभिन्न गिगाबाइट साइजमा रहेका हार्डडिस्क रहेका हुन्छन् । यसरी हरेक हार्डडिस्कमा आफ्नो डेटा अलग अलग गरी नै सुरक्षित गर्नुपर्दथ्यो । तर अब एलटीएसपीको प्रयोगबाट यस्तो उच्च कन्फिगरेसनका कम्प्युटर खरिद गर्नुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ। तपाईँले एउटा उच्च कन्फिगरेसनको र अन्य एकदमै न्यून तहको कन्फिगरेसन भएका कम्प्युटर किनेर फाइदा लिन सक्नुहुन्छ। यसका लागि हार्ड ड्राइभ, फ्लपी ड्राइभ र सीडी रोम हुनुपर्ने जरूरी छैन बरू त्यसको सट्टामा बुटेबल सञ्जाल कार्ड थप गरे पुग्दछ ।
एलटीएसपी समाविष्ट नेपालीनक्स ३.० को प्रयोग
एलटीएसपी समर्थन भएको नेपालीनक्स ३.० संस्करणको उद्देश्य मुख्यतः धेरै कम्प्युटर चलाउनु पर्दाको अनावश्यक खर्च घटाउनका लागि भएकाले स्कुल तथा साइबर क्याफेहरूमा अधिकतम उपयोगी हुन सक्छ । नेपालीनक्स स्थापना गर्नका लागि एउटा उच्च कन्फिगरेसन भएको प्रणाली प्रयोग गर्नु पर्दछ र अरू बुट हुन सक्षम सञ्जाल कार्ड सहितको न्यून कन्फिगरेसनका मेशिनहरू प्रयोग गर्न सकिन्छ।
साथै कम्प्युटर पहुँच तथा सञ्चालन गर्न अङ्ग्रेजी भाषा बाधक बनेका टेलिसेन्टर, सरकारी स्कुलहरू तथा यस्तै अन्य विभिन्न क्षेत्रहरू यसको कार्यान्वयन गर्न सकिन्छ। यस संस्करणमा प्रयोगकर्तालाई सामान्य प्रयोगकर्तालाई आवश्यक पर्ने अफिस सुइट, इन्टरनेट अनुप्रयोग, मल्टिमिडिया जस्ता थुप्रै अनुप्रयोगहरू स्थानीकृत रूपमा समाविष्ट गरिएको छ ।
|